स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताएकी छन् ।
बुधबार मन्त्रालयमा मन्त्री मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकार, स्वास्थ्य सेवामा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको हो।
मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती, हर्मोन थेरापी, लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकता लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो।
छलफलका क्रममा मन्त्री मेहताले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न मन्त्रालय आवश्यक नीतिगत तथा प्राविधिक व्यवस्था गर्न सकारात्मक रहेको बताइन्।

