नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच प्रत्यक्ष प्रसारण हुने गरी सार्वजनिक बहस गर्न तयार रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले प्रधानमन्त्रीको उम्मेदवार दाबी गर्ने नेताहरूबीच खुला संवाद र पब्लिक डिबेट आवश्यक रहेको उल्लेख गरे। एक पत्रकारले ‘प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि तपाईं तयार हुनुहुन्छ?’ भन्ने प्रश्नमा ओलीले ‘बिल्कुल’ भन्दै स्पष्ट सहमति जनाए।

‘प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेहरूबीच संवाद कार्यक्रम राख्नुपर्छ। किन प्रधानमन्त्री हुनुपर्छ, के गर्न प्रधानमन्त्री हुनुपर्छ यी विषयमा खुला छलफल हुनैपर्छ,’ ओलीले भने।

नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै चुनावमा जाने निर्णय गरिसकेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यसैगरी, नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।

तीन ठूला दलले प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गरेसँगै उनीहरूलाई एउटै मञ्चमा राखेर प्रत्यक्ष बहस गराउनुपर्ने माग तीव्र बन्दै गएको छ। यही सन्दर्भमा अध्यक्ष ओलीले गगन थापा र बालेन शाहसँग खुला बहसका लागि आफू तयार रहेको बताएका हुन्।

