राजनीति

ग्रासरुटदेखि केन्द्रसम्म: युवा नेता राकेश यादव र जेनजी राजनीति

Lumbinikhabar Online

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा युवा नेता राकेश यादवको नाम सिफारिस गरेसँगै पार्टीभित्रको उम्मेदवारी प्रक्रिया नयाँ मोडमा पुगेको छ। क्षेत्रीय र जिल्ला तहबाट नाम हटाइएपछि प्रदेश समितिमार्फत केन्द्रसम्म पुगेको यादवको उम्मेदवारीले कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र पुस्तान्तरणको बहसलाई पुनः सतहमा ल्याएको छ।

यसअघि क्षेत्रीय र जिल्ला कार्यसमितिले यादवको नाम हटाउँदै पूर्वमन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र मदन यादवको नाम मात्र सिफारिस गरेका थिए। यस निर्णयलाई आफूविरुद्धको अन्याय ठहर गर्दै यादवले पुस ८ गते मधेस प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्ण यादवलाई भेट गरी पार्टी विधानअनुसार उम्मेदवारी सिफारिसका लागि लिखित निवेदन दिएका थिए।

यादवको निवेदनपछि प्रदेश सभापति कृष्ण यादवले “क्षेत्र र जिल्लाबाट छुट हुन गएको” भन्दै पार्टी विधानको व्यवस्था प्रयोग गरी राकेश यादवको नाम प्रत्यक्षतर्फ केन्द्रिय कार्यसमितिमा सिफारिस गरेका हुन्। प्रदेश कार्यसमितिको सिफारिस पत्र केन्द्रिय कार्यालयमा दर्ता भइसकेको छ, जसले यादवको उम्मेदवारी औपचारिक प्रक्रियामा प्रवेश गरेको संकेत गर्छ।

युवा नेता यादवले क्षेत्र र जिल्लामा पुराना नेताहरूको दबाब तथा गुटगत राजनीतिका कारण आफ्नो नाम हटाइएको दाबी गरेका छन्। तर आफूले पार्टीभित्रै विधिसम्मत बाटो अपनाएर प्रदेश समितिमा निवेदन दिएको र त्यसैको परिणामस्वरूप केन्द्रमा नाम सिफारिस भएको उनको भनाइ छ। यस घटनाले कांग्रेसभित्र उम्मेदवार छनोटमा पारदर्शिता र समावेशिताको प्रश्नलाई पुनः उठाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यादवले गत मंसिर २२ गते क्षेत्रीय कार्यसमितिमा ११ हजार रुपैयाँ दस्तुर बुझाएर उम्मेदवारी आवेदन दिएका थिए। सुरुमा क्षेत्रीय कार्यसमितिले चारै जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरे पनि केही दिनमै यादव बाहेक अन्य तीन जनाको नाम मात्र अघि बढाइएको थियो।

त्यसपछि यादवले मंसिर २९ गते कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई भेट गरी पुनः लिखित निवेदन दिएका थिए। तर जिल्ला कार्यसमितिले पनि यादवको नाम हटाएर तीन जनाको नाम मात्र मधेस प्रदेश कार्यसमितिमा पठाएको जानकारी प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले दिएका थिए।

राकेश यादवः संगठनबाट उठेको युवा अनुहार

राकेश यादव पर्साको बहुदरमाई नगरपालिका–२, सिसियाडी बैरियाका स्थायी बासिन्दा हुन्। उनी नेबिसंघका पूर्वसभापति, वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव, तथा नेपाल तरुण दल पर्साका पूर्व जिल्ला सचिव रहिसकेका छन्। विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा लामो समय सक्रिय रहेका यादवलाई कांग्रेसभित्र “ग्रासरुटबाट उठेको युवा नेता”का रूपमा चिनिन्छ।

प्रदेश समितिबाट केन्द्रसम्म पुगेको यादवको सिफारिसले कांग्रेसभित्र दुई महत्वपूर्ण सन्देश दिएको देखिन्छ। पहिलो, युवा पुस्तालाई बेवास्ता गर्दा पार्टीभित्र असन्तोष बढ्न सक्छ भन्ने संकेत। दोस्रो, पार्टी विधान प्रयोग गरेर पनि स्थापित नेताहरूको निर्णयलाई चुनौती दिन सकिने उदाहरण। पर्सा–२ मा यादवको उम्मेदवारी अन्तिम रूपमा टुंगिएमा यसले स्थानीय राजनीतिमा नयाँ समीकरण र युवा मतदाताको आकर्षण बढाउने अनुमान गरिएको छ।

Tags

छुटाउनु भयो कि ?