नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले काँग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरु स्वयंले भोगिरहेको बताएका छन् ।
दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले सुशासनका लागि काम गर्दा नियोजित रुपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस–एमाले मिलेको बताए ।
केपी ओली नेतृत्वको काँग्रेस–एमाले सरकारका गलत कामविरुद्ध आफूहरुलेसंसद र सडकबाट निरन्तर खबरदारी गर्दा पनि नसुनेको भन्दै पुनले सरकारको कूशासनका कारण जेन-जी आन्दोलन भएको उनको भनाइ थियो ।
आफूहरुले त्यतिबेला जनतामा असन्तुष्टि चुलिएको र कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्नेबारे सचेत पनि काँग्रेस र एमाले नेतृत्वले सुन्न नचाहेको पुनले स्मरण गरे । तर, जनताको असन्तुष्टिको नेतृत्व गर्न भने आफूहरु चुकेको उनले स्वीकार गरे ।

