प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्।
बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापनाको माग, निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी दिइन्।
कार्यक्रममा मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीहरू उपस्थित थिए। प्रधानमन्त्री कार्कीले आफ्नो सरकार युवा पुस्ताको आन्दोलन र भ्रष्टाचारविरुद्ध उठेको असन्तुष्टिको आधारमा बनेको भन्दै देशलाई संवैधानिक निकास दिन निर्वाचन अनिवार्य भएको दोहोर्याइन्। ‘लोकतन्त्रमा विश्वास गर्नेका लागि निर्वाचनबाट भाग्ने विकल्प छैन,’ उनले भनिन्।
कार्कीले सबै दललाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता अनिवार्य रूपमा गराउन आग्रह गरिन् । उनले चेतावनीको स्वरमा भनिन्, ‘दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ’, उनले भनिन् ।
दल दर्ताको समय सीमालाई सामान्य प्रशासनिक प्रक्रिया मात्रै नभएर राष्ट्रप्रतिको राजनीतिक प्रतिबद्धताको परीक्षण मानिनुपर्ने उनले बताइन् ।

