नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेनन् ।
उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै सत्ताधारीले आफ्ना संघीय सांसदहरूको हस्ताक्षर संकलन गरे ।
तर, उक्त हस्ताक्षर संकलन अभियानमा दलको निर्देशनअनुसार डा. कोइरालाले हस्ताक्षर गरेनन् । मंगलबार दिउँसो कोइरालाले हस्ताक्षर नगरेको विषयमा अनेक टिका टिप्पणीसमेत भए ।
उनले हस्ताक्षरको प्रयोजन खुलाउनुपर्ने, खाली कागजमा हस्ताक्षर गर्न नमानेको जस्ता राजनीतिक गसिप पनि सामाजिक सञ्जालमा चर्चाका विषय बने ।
तर, स्वयम् शेखर भने अहिलेको अवस्थामा उपसभामुख राना मगरलाई हटाएर सरकारलाई थप अलोकप्रिय बनाउने पक्षमा देखिएका छन् ।
उनले २०८१ असार ३० गते गठित दुई ठूला दलको शक्तिशाली सरकारको कामलाई लिएर समाजमा चर्को असन्तोष देखिएका बेला उपसभामुखलाई हटाउने कदम चालेर आगोमा घ्यू थप्न नहुने कुरा आफूनिकटहरूसँग बताइरहेका छन् ।
स्वकीय सचिव दिनेशचन्द्र थपलियालाले जनमानसमा तीव्र असन्तोष देखिएका बेला उपसभामुख हटाउने प्रयासलाई अलोकप्रियता बढाउने अर्को कदमका रुपमा नेता कोइरालाले लिएको बताए ।

