नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् ।
शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथिको भ्रष्टाचार मुद्दालाई प्रतिशोधको संज्ञा दिएका हुन् ।
‘मेरो कुनै भ्रष्टाचारको केस नै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने, ‘यो राजनीतिक पूर्वाग्रह हो, प्रतिशोध भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’
अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकताका लागि कुनै छलफल नभएको पनि बताएका छन् । माओवादीसँग सहकार्यको मात्रै कुरा भइरहेको पनि उनले उल्लेख गरेका छन् ।
नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश पीडामा परिरहेको पनि उल्लेख गरेका छन् ।
‘यो सरकार सबै कुरामा असफल भइसकेको छ । एउटा व्यक्ति ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले देश पीडित छ,’ उनले भने,‘जबसम्म ओलीलाई बिदा गरिँदैन, तबसम्म मुक्त हुने स्थिति बन्दैन ।’
अध्यक्ष नेपालले ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन सम्भव नभएको पनि उल्लेख गरेका छन्।

