नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, समाजवादी चिन्तक प्रदीप गिरिको पहिलो वार्षिकीमा सोमबार केन्द्रीय कार्यालय सानेपामा स्मरण सभा गरेको छ।
गत साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समितिले पारित गरेको कार्यतालिकाअनुसार गिरिको स्मरण सभा भएको हो।
स्मरण सभामा गिरिका परिवारका सदस्यदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मले धारणा राखेका छन्।
परिवारको तर्फबाट सुरूमै पत्नी भारती सिलवाल गिरिले कुरा राखिन्। प्रदीपको १३ औं पुण्यतिथिमा पार्टी सभापति देउवाले भनेका कुरा उनले स्मरण गरेकी थिइन्।
‘सभापति देउवाले उहाँ (प्रदीप गिरि) को १३ औं दिनमा भन्नुभएको थियो- प्रजातन्त्र र समाजवादबारे प्रदीप गिरिका लेख, रचना र विचारलाई पार्टीले प्रकाशन गर्छ र प्रशिक्षण पनि गरेर समाजवादको आन्दोलन छेड्छ,’ उनले भनिन्, ‘उहाँका विचारलाई अगाडि बढाउन सके सच्चा श्रद्धाञ्जली हुनेछ।’
गिरिका नाममा ट्रष्ट खोलेको र कांग्रेससँग हातेमालो गरेर अघि बढ्न आफूहरूले चाहेको उनले उल्लेख गरेकी छन्। ‘मलाई उहाँको अभिभावकत्व सधैं खड्किरहनेछ, उहाँजस्तो व्यक्ति अब मैले भेट्ने छैन,’ उनले भनिन्।
यसपछि भ्रातृ संस्थाहरूको प्रतिनिधित्व गर्दै नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बोल्न दिइयो।
‘प्रदीप गिरिका कुरा सुन्दा समय कटेको पत्तो नै हुँदैनथ्यो। उहाँ कांग्रेस पार्टीको मात्र होइन, अरू पार्टीले पनि सम्मान गर्ने नेता हुनुहुन्थ्यो,’ शेर्पाले भने, ‘गिरिको सम्मानमा उहाँको जीवनी विद्यालयका पाठ्यक्रममा राख्न नेविसंघले अभियान चलाउनेछ।’
गिरिको सम्झनामा क्याम्पसहरूमा प्रत्येक साता फरक विषयमा बहस चलाउने प्रतिबद्धता उनले जनाए। ‘हामीसँग भेटमा उहाँले युवाहरू बहस गर्नुपर्छ, बहसमा भाग लिनुपर्छ भन्नुहुन्थ्यो,’ उनले भने।
फरक प्रसंग निकाल्दै उनले राजनीतिकरणले त्रिभुवन विश्वविद्यालय संकटमा पुगेको बताए। ‘त्रिवि कुलपति राष्ट्रपतिलाई बनाउनुपर्दछ,’ उनले भने।
जिल्ला सभापतिहरूका तर्फबाट धारणा राखेका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले गिरिका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्ने बताए।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले गिरि सांसद भए पनि मन्त्री हुन नमानेको प्रसंग सुनाइन्।
‘तपाईं मन्त्री बन्नुपर्यो भनेर हामीले पटक-पटक भन्यौं, तर उहाँ मान्नुभएन। मैले मन्त्री बन्न राजनीति गरेको होइन, राजनीतिमा अभिप्रेरित हुनुको कारण परिवर्तन गर्न हो भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘महात्मा गान्धी र बिपी कोइरालाका आदर्शसँग जोडिएकोले पनि उहाँले परिवर्तनलाई महत्व दिनुभयो, पदका कुरा गर्नुभएन।’
महामन्त्री गगन थापाले आफूहरूले संगत गर्न पाएका नेतामध्ये गिरि एक बौद्धिक नेतामा पर्ने बताए।
‘हामीले संगत गर्न पाएको बौद्धिक नेतामध्ये प्रदीप गिरि एक हो,’ उनले भने, ‘हाम्रो पुस्ताका धेरै साथीहरूलाई कुनै विषयमा कसरी सोच्ने, कसरी बुझ्ने भन्ने सन्दर्भमा हात समातेर बाटो देखाएको उहाँले नै हो। त्यसैले पनि हामी उहाँलाई सधैंभरि सम्झन्छौं।’
गिरिका विचारलाई पार्टीसँग जोडेर लैजानुपर्ने उनले बताए।
‘उहाँले बिपीबारे विचार, लेख, रचना संकलन र विश्लेषण गरी न्यायोचित ढंगबाट प्रयोग गर्ने काम गर्नुभयो। त्यसैगरी उहाँका विचार र लेख, रचनालाई पनि हामीले नयाँ पुस्तामा लैजानुपर्छ,’ उनले भने।
उनले गिरिका विचार, लेख तथा रचनालाई सिलसिला मिलाएर प्रकाशन गर्नुपर्ने बताए।
‘केन्द्रीय कार्यालयले उहाँका विचार र लेखलाई संकलन गर्छ। यसमा सबैको मद्दत पनि चाहिन्छ,’ उनले भने, ‘गिरिका विचार र उहाँले के भन्न खोज्नुभएको हो भन्ने पहिचान गर्न सकियो भने त्यसले हामीलाई समस्या परेका बेला समाधान गर्ने आधार दिन्छ।’
सबैका कुरा सुनेपछि सभापति देउवाले बोले। उनले गिरि बौद्धिक व्यक्तित्व भएको बताए। ‘उहाँ समाजवादी चिन्तक र विद्वान हुनुहुन्थ्यो,’ उनले भने।
गिरिको सम्झनामा ‘काठमाडौंदेखि काशी यात्रा’ जस्ता विभिन्न कार्यक्रम पनि भइरहेका छन्।
साथै नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले पनि सोमबार नै काठमाडौंमा विभिन्न दलका नेतालाई बोलाएर ‘प्रजातान्त्रिक समाजवादका आयामहरू’ बारे संवाद गर्दैछ।
गिरिको २०७९ भदौ ४ गते उपचारका क्रममा निधन भएको थियो। उनी क्यान्सर र निमोनियाबाट पीडित थिए।