दाइजो माग्दै बेहुली पक्षलाई धम्काएको आरोपमा काठमाडौंको नक्सालबाट प्रहरीले मंगलबार बेहुलालाई पक्राउ गरेको छ ।
सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले विवाहमण्डपबाटै पक्राउ गरेको हो ।
नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए । साथै, बेहुलीलाई हातपात र गाली बेइज्जती गरेका थिए ।
सोही सूचनाका आधारमा प्रहरी पुगेर बेहुलालाई पक्राउ गरेको काठमाडौं परिसरका एसपी सीताराज रिजालले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा केटापक्षले दाइजोवापत २२ लाख रुपैयाँ लिइसकेको समेत खुलेको छ ।
आफू अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले दाइजो मागेका हुन् । उनलाई विवाहसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ ।