शरणार्थी शिविरको मूल बाटो छेवैमा एउटा झ्याम्म परेको पिपलबोट छ। त्यो पिपलबोटको आडैमा एउटा होटल छ। हामी त्यही होटलको आँगनमा, पिपलबोटमुनि बसेर भुटानी शरणार्थीहरूसँग कुरा गर्दै थियौं।
हामीसँग कुरा गर्न जम्मा भएका शरणार्थीहरू अनुशासित ढंगले पालैपालो आफ्नो अनुभव र भोगाइ सुनाउँदै थिए।
उनीहरूमा एउटा समानता थियो — जो जो आफ्नो कुरा सुनाउन अघि सर्थे, उनीहरू आफूलाई चिनाउँदा नाम, उमेर र गाउँ सँगसँगै थ्राम नम्बर पनि भन्थे।
म फलानो, मेरो उमेर यति।
मेरो गाउँ फलानो, मेरो थ्राम नम्बर यति यति।
हामीलाई लाग्यो — नाउँ, उमेर र गाउँ त ठिकै हो, तर यो थ्राम नम्बर भनेको चाहिँ के हो? किन यो भुटानी शरणार्थीहरूको परिचयसँग झुन्डिएको छ?
हाम्रो यो जिज्ञासा दलबहादुर दर्जीको कुरा सुनेपछि छर्लंग भयो।
साठी वर्षीय दलबहादुर ए१/०९३ नम्बरको झुपडीमा बस्छन्। उनी आजभन्दा ३३ वर्षअघि सन् १९९० मा साम्ची जिल्लाको घुमाउने गाउँबाट शरणार्थी बनेर नेपाल छिरेका थिए। अहिले परिवारका सबै सदस्य विदेश उडिसके, उनी चाहिँ भुटान फिर्तीको माग राख्दै शिविरमा एक्लै छन्।
भुटानमा दलबहादुरको तेह्र एकड घडेरी र नौ एकड खेत थियो। ती सबै जमिनको ‘असली थ्रामपट्टा’ उनीसँगै थियो। भुटान सरकारले पहिला झुक्याएर थ्रामपट्टा हडपेछ, अनि उनलाई भूमिहीन बनाएर देशबाट लखेटेछ।
त्यो बेला कयौं दिनदेखि गाउँमा भुटानी सेनाले चक्कर काट्दै थियो। उनीहरू नेपालीका घर–घरमा गुटुटु छिर्ने, तथानाम गाली गर्दै भाँडाबर्तन मिल्काउने र बिनाकारण पिटपाट पार्ने गर्दै थिए। सेनाले बूढापाकालाई जेल हाल्छ भन्ने हल्ला पनि गाउँमा फैलिएको थियो। त्यसैले दलबहादुरका बुवा र अरू बूढापाकाहरू गाउँमा सेना पसेको थाहा पाउनेबित्तिकै जंगलमा लुक्न जान्थे।
एकदिन सेनाको उच्च अधिकारी आएर दलबहादुरसँग थ्रामपट्टा मागेछ र भनेछ, ‘तँ आफ्नो थ्रामपट्टा हामीलाई दे, त्यसबापत् तैंले पैसा पाउँछस् र ढुक्कसँग भुटानमा बस्न पाउँछस्।’
दलबहादुरलाई अलमल भयो।
दिऊँ भने भुटानी सेनाले थ्रामपट्टा के गर्ने हो थाहा थिएन! नदिऊँ, त्यही निहुँमा यातना देला र देशबाटै निकाल्ला भन्ने डर!
बरू थ्रामपट्टा जिम्मा लगाए पैसा पनि पाइने र भुटानमै आनन्दसँग बस्न पाइने हो कि भन्ने उनलाई आस जाग्यो।
दलबहादुरले थ्रामपट्टा सेनाको जिम्मा लगाए।
तेह्र एकड घडेरी र नौ एकड खेतको थ्रामपट्टाबापत् सेनाले ३१ हजार रूपैयाँ नगद उनको हातमा राखिदियो, दुई प्रति कागजमा दस्तखत गर्न लगायो र भन्यो, ‘यो कागज पैसा बुझेको रसिद हो।’
यति भनेर त्यो अधिकारीले कागजको एक प्रति दलबहादुरलाई दियो र एक प्रति आफैंसँग राख्यो।
त्यसपछि एक जना सैनिक क्यामरा बोकेर अगाडि आयो।
दलबहादुरलाई ङिच्च दाँत देखाएर हाँस्न लगायो।
उनलाई फिटिक्कै हाँसो उठेको थिएन। तर सेनाको डरले जबर्जस्ती मुख फट्टयाएर ङिच्च दाँत देखाए।
क्यामरा बोकेको सैनिकले खिचिक्क फोटो खिच्यो।
अक्षर नचिनेका दलबहादुरले सैनिक अधिकारीले जहाँ जहाँ भन्यो, त्यहाँ त्यहाँ दस्तखत गरिदिए।
केही दिनपछि फेरि अर्को हुल सेना घोडा चढेर आयो।
थ्रामपट्टा माग्यो।
दलबहादुरले भने, ‘मैले त थ्रामपट्टा अस्ति नै सेनाको जिम्मा लगाइसकेँ हजुर। यी हेर्नुस् त कागज!’
उनले आफ्नो दस्तखत भएको कागज सेनाको नयाँ अधिकारीलाई देखाए।
नयाँ अधिकारीले कागज हेर्यो र अट्टहास गर्दै हाँस्यो।
भन्यो, ‘तँलाई थाहा छ, यो कागजमा के लेखिएको छ?’
दलबहादुर वाल्ल परे।
उनलाई साँच्चै थाहा थिएन, त्यो कागजमा के लेखिएको छ! उनले त अस्ति आएको सैनिक अधिकारीले भनेजस्तै पैसा बुझेको रसिद होला भन्ठानेका थिए।
नयाँ अधिकारीले एकछिन अट्टहास गरिरह्यो, अनि आफ्नो गोजीबाट त्यस्तै अर्को कागज निकाल्दै भन्यो, ‘यही होइन तैंले दस्तखत गरेको कागज? यी हेर् मसँग पनि छ।’
दलबहादुरले हेरे।
त्यो उनीसँगै भएको कागजको अर्को प्रति थियो।
त्यसपछि नयाँ सैनिक अधिकारीले भन्यो, ‘यो कागजमा तैंले जानीबुझी, राजीखुसी मनले आफ्नो घरजग्गा भुटान सरकारलाई जिम्मा लगाएँ र त्यसबापत् ३१ हजार रूपैयाँ नगद बुझेँ, अबउप्रान्त म भुटानमा बस्ने छैन र देश छाडेर जानेछु भनेर लेखिएको छ।’
‘तेरो दस्तखत होइन यो?’ नयाँ सैनिक अधिकारीले हप्काउँदै सोध्यो।
दलबहादुर खङरङ्ग भए।
त्यसपछि त्यो सैनिक अधिकारीले एउटा फोटो पनि देखायो र भन्यो, ‘यी हेर्, देश छाडेर जान्छु भनेर पैसा बुझेपछि तैंले हाँसी हाँसी फोटो खिचाएको होइन?’
दलबहादुरले फोटो हेरे।
उनी हाँसेका त थिएनन्, तर जबर्जस्ती मुख फट्टयाएर ङिच्च दाँत देखाएकाले फोटोमा हाँसेझैं देखिएका रहेछन्।
‘अब दायाँबायाँ हैन,’ सैनिक अधिकारीले धम्की दियो, ‘रातभरिमा के के पोको पार्नुछ पार्नू, भोलि बिहानसम्म आमाबा, बालबच्चा सब बोकेर गाउँ छाड्नू।’
यति भनेर त्यो सैनिक अधिकारीले घोडाको लगाम तान्यो र पछाडि फर्केर भन्यो, ‘भोलि आउँदा पनि यही गाउँमा भेटिइस् भने बालबच्चासहित जेलमा जाकिन्छस्।’
त्यसपछि त्यो अधिकारी आफूसँगै आएको सैन्य टुकडीका साथ धूलो उडाउँदै फर्कियो।
‘मसँग अर्को विकल्प थिएन,’ दलबहादुर दर्जीले रूँला रूँलाझैं गर्दै हामीसँग भने, ‘हामी भुटानकै मान्छे हौं भनेर प्रमाणित गर्न त्यही एउटा थ्रामपट्टाको भर थियो, त्यही पनि जालीहरूले जाल गरेर हडपे। हामी त घरको न घाटको भयौं।’
सेनाको उर्दीपछि दलबहादुरले त्यो रातभरि चाहिँदो चाहिँदो सामान पोको पारे र भोलिपल्ट घाम नलाग्दै गाउँ छाडे।
‘मेरो जग्गा–जमिन दक्षिण भुटानको भारतीय सीमा नजिकै पर्छ, भारतबाटै हेर्ने हो भने पनि देखिन्छ होला,’ भुटान फिर्तीको माग राखेर शिविरमा बसिरहेका दलबहादुरले भने।
उनका अनुसार भुटानी सेनाले अरू धेरै नेपालीलाई यही उपाय गरेर लखेटेको रहेछ। कतिको थ्रामपट्टा उनलाई जस्तै झुक्याएर खोसेछ, कतिको चाहिँ जानाजान धम्क्याएर लगेछ।
‘उनीहरूले भनेजस्तो खुरूखुरू थ्रामपट्टा जिम्मा लगाएर पैसा बुझ्न र ङिच्च दाँत देखाएर फोटो खिच्न मान्यो भने यातना दिँदैनथ्यो। चुपचाप गाउँ छाडेर निस्कन समय दिन्थ्यो। नभए जेलमा कोचेर खुब पिट्थ्यो। केटाकेटीहरूको बिचल्ली पार्थ्यो। महिलाहरूको शरीर लुट्थ्यो,’ दलबहादुरले भने, ‘धेरै मान्छेले त यातनाको डरले नै आफ्नो थ्रामपट्टा जिम्मा लगाए।’
र, भुटानी नेपालीहरूको निम्ति थ्रामपट्टा जिम्मा लगाउनु भनेको आफ्नो परिचय जिम्मा लगाउनु!
दलबहादुरका अनुसार भुटानमा स्थानीय प्रशासनले जग्गा–जमिन दर्ता गरेर जग्गाधनीलाई एउटा प्रमाणपत्र दिने चलन छ, जसलाई ‘थ्रामपट्टा’ भनिन्छ। नेपालमा जग्गाको लालपुर्जाजस्तै भुटानको थ्रामपट्टामा जग्गाधनीको नाम, जग्गा भएको ठेगाना, क्षेत्रफल र जग्गाको नम्बर खुलाइएको हुन्छ। खेत हो कि, बारी हो कि, घडेरी हो भन्ने पनि थ्रामपट्टामै लेखिएको हुन्छ।
‘भुटानमा जसको जग्गा छ, उसको थ्रामपट्टा छ। जसको थ्रामपट्टा छ, ऊ भुटानी हो,’ दलबहादुरले हामीसँग भने, ‘जसको थ्रामपट्टा छैन, ऊ भुटानी रहन्न। उसको भुटानी हुने हक पनि रहन्न।’
‘हाम्रो थ्रामपट्टा थियो, तर सरकारले खोसेर हामीलाई अनागरिक बनायो। आफ्नै देश छाडेर हिँड्न बाध्य पार्यो।’
दलबहादुरको कुरा सुनेपछि हामीले भुटानीका रूपमा चिनिन थ्रामपट्टाको महत्व कति रहेछ भन्ने बुझ्यौं।
त्यही महत्वले त भुटान सरकारले पहिले दलबहादुरको थ्रामपट्टा खोस्यो, अनि देश पनि खोस्यो।
हुन त थ्रामपट्टा खोस्दै नखोसी देश छाड्न बाध्य पारिएका उदाहरण पनि छन्।
जस्तो — टेकबहादुर मगर।
हामीले बेलडाँगी शिविरको पिपलबोटमुनि बसेर भुटानी शरणार्थीहरूसँग कुरा गरिरहँदा उनी पहिले चुपचाप अर्काको कुरा सुन्दै थिए। अन्तिममा सबैले सकेपछि कक्षाका अनुशासित विद्यार्थीझैं हात उठाए र भने, ‘म पनि आफ्नो कुरा राख्छु है।’
यति भनेर टेकबहादुरले आफ्नो अनुभव सुनाए।
उनी सन् १९९२ मा भुटान छाडेर आउँदा १८ वर्षका थिए। अहिले ४९ वर्ष भए।
उनी भुटानको सर्भाङ गाउँबाट आएका हुन्। उनको थ्रामपट्टा खोसिएको छैन, आफैंसँग छ। तर त्यो बेला गाउँमा सेनाको यस्तो आतंक थियो, थ्रामपट्टा छ भनेर ढुक्क बस्ने अवस्थै नभएको उनी बताउँछन्।
‘सैनिकहरू आएर हाम्रो घर जलाउन थाले। हामीलाई लखेट्न थाले। कुटपिट गरे। कतिलाई त कयौं दिन जेलमा थुनेर यातना दियो। छोरीबेटीलाई घरबाट निस्कनै मुस्किल पर्न थाल्यो,’ उनले भने।
त्यही क्रममा एक दिन उनलाई प्रहरी चौकीबाट बोलावट आयो।
टेकबहादुर डराई डराई चौकी गए। उनलाई आफू पक्राउ परियो भन्ने पक्कापक्की थियो। तर प्रहरीले त्यस दिन उनलाई पक्राउ गरेन। खाली यत्ति भन्यो, ‘तँलाई थुन्न, पिट्न हामीलाई कुनै रहर छैन। त्यसैले दुई दिनभित्र चुपचाप गाउँ छाडेर जानू। दुई दिनभन्दा तीन दिन बसिस् भने तेरो घरमै आएर घिसार्दै ल्याउँछौं।’
त्यस दिन उनले प्रहरीले माग्ला र देखाउँला भनेर थ्रामपट्टासहित आफ्नो भुटानी परिचय खुल्ने सम्पूर्ण कागजपत्र बोकेरै गएका थिए। तर प्रहरीले सिधै धम्की दिएपछि ती कागजपत्र देखाउने उनले हिम्मत गरेनन्।
उनले बुझिसकेका थिए, कागजपत्र देखाएर पनि अब उनको देशनिकाला टर्नेवाला थिएन।
त्यहाँ प्रहरी नै सर्वेसर्वा थियो।
उजुरबाजुर गर्ने ठाउँ थिएन।
त्यसमाथि सिंगो नेपालीभाषी समुदायको ‘सफाया’ भइरहेका बेला टेकबहादुरको उजुरी सुन्ने कसले?
उनको थ्रामपट्टा हेर्ने कसले?
उनलाई देशनिकालाको उर्दीबाट बचाउने कसले?
टेकबहादुर चुपचाप चौकीबाट घर फर्के। परिवारका सबैलाई प्रहरीको धम्की सुनाए। र, अब कुनै उपाय छैन भनेर रातभरिमा गुन्टा कसे।
‘राज्य लागेपछि कागजपत्र हुनुको कुनै अर्थ हुँदैन रहेछ,’ टेकबहादुरले हामीसँग भने, ‘त्यो थ्रामपट्टाले म भुटानी हुँ भनेर त भन्छ, तर भुटानले त्यो थ्रामपट्टा मेरो हो भनेन।’
राज्यले आफैंले दिएको थ्रामपट्टा स्वीकार नगरेपछि टेकबहादुरको थातथलो खोसियो।