राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला(एनपिएचएल) की निर्देशक डा रुणा झाले केन्द्र तहमा क्यान्सर हेर्ने विशिष्ट प्रयोगशाला बन्नुपर्ने बताएकी छिन् ।
शुक्रबार उनले ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल’को दसौं अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै भविष्यमा एनपिएचएलमा क्यान्सर ल्याब बनाउने तयारी गरिरहेको बताइन् ।
‘प्याथोलोजीमा विकासः आधुनिक चिकित्सामा मार्गनिर्देशन’ नारा रहेको ३ दिने उक्त सम्मेलनमा क्यान्सर सम्बन्धी मात्र ९३ वटा शैक्षिक कार्यपत्र प्रस्तुत गरिएको थियो । एसोसिएसनकी अध्यक्षसमेत रहेकी डा. झाले प्याथोलोजिस्टको दरबन्दी प्रत्येक जिल्ला अस्पतालसम्म पुराउनुपर्ने र परीक्षणका लागि बाहिर जाने नमुना सक्दो कम गर्नु पर्नेमा जोड दिइन् ।
उनले भनिन्–‘प्याथोलोजीमा नयाँ विकासहरु भइरहेका छन् यसले क्यान्सरको उपचारमा कसरी सहयोग पुर्याइरहेको छ र यो किन आवश्यक छ भनेर प्रकाश पार्नु नै यो सम्मेलनको प्रमुख उद्देश्य हो ।’ उनका अनुसार एउटै क्यान्सरमा पनि सबै व्यक्तिको उपचार फरक हुन्छ । नेपालमा थेरापी तथा औषधिको मात्र कुरा भए पनि परीक्षणको खोज बारेमा छलफल नहुने उनको भनाइ छ ।
सम्मेलनमा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तथा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्कीले कार्यत्रममा बोल्दै स्वास्थ्यकर्मीको काम गराइमा देखिने जस्तो इमान्दारिताको खाँचो सबै क्षेत्रमा आवश्यक रहेको बताइन् । नेपाल मेडिकल काउन्सिलमा हाल ३१० जना प्याथोलोजिस्ट चिकित्सक दर्ता छन् जसमा सम्मेलनमा ७० प्रतिशत उपस्थित थिए ।
सरकारले क्यान्सरलगायत सर्ने तथा नसर्ने रोगको निदान तथा उपचारमा हुनुपर्नेमा जोड दिएपनि निदान गर्ने प्याथोलिजिस्टहरुको उचित दरबन्दी कायम गर्न र आधुनिक तरिकाले प्रयोगशालको परीक्षण नेपालमै गर्ने ध्यान दिन नसकेको विज्ञहरुको भनाइ थियो ।