संसदीय सुनुवाइ समितिमा ७ वटा राजनीतिक दलका सांसद मात्र रहने भएका छन् । १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाका ३ सदस्य रहने व्यवस्था संघीय संसद संयुक्त कार्यसम्पादन नियमावलीमा छ ।
दलहरुका बीचमा भएको अनौपचारिक सहमतिअनुसार सिट संख्याका आधारमा दलबाट प्रतिनिधित्व गर्ने सांसद संख्या तय गरिएको हो । संघीय संसद सचिवालयका एक अधिकारीका अनुसार हाल प्रतिनिधिसभामा २७२ सांसद छन् ।
२७२ सांसदबाट १२ जना छनोट गर्दा सरदर २२.६६ प्रतिनिधिसभा सदस्य बराबर एक जना सदस्य सुनुवाइ समितिमा चयन हुन्छन् । जस अनुसार प्रतिनिधिसभामा ८८ सदस्य रहेको कांग्रेसबाट चार जना सदस्य सुनुवाइ समितिमा रहनेछन् ।
प्रतिनिधिसभामा ७८ सांसद रहेको एमालेले तीन सदस्य पाउँछ । त्यस्तै ३२ सिट रहेको माओवादी केन्द्र र १९ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), १४ सिट रहेको राप्रपा र १२ सिट रहेको जसपाले एक÷एक सदस्य पाउनेछन् ।
यस अनुसार सुनुवाई समितिमा रहने ११ सदस्य तय हुन्छ । बाँकी १ सिट एकीकृत समाजवादीलाई दिने अनौपचारिक सहमति दलहरुका बीचमा भएको हो । एकीकृत समाजवादीको उपस्थिति प्रतिनिधिसभामा ०.४ प्रतिशत छ ।