News in Nepali

चितवनमा जगन्नाथकाे अर्काे ‘विद्रोह’ : कांग्रेसले हात बाँधेकाे भन्दै रास्वपालाई सघाउने घाेषणा

Lumbinikhabar Online

कांग्रेसले कारबाही फुकुवा गरेका चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन्।

कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। तर, पौडेलले भने आफ्नै पार्टीका उम्मेदवारलाई समर्थन नगर्ने भएका छन्।

उनले भने, ‘परिवर्तित सन्दर्भमा एउटा उदाउँदो पार्टी हो। देशमा रूपान्तरको आवश्यकता छ। म आफ्नो सक्रियता राजनीतिमा देखाउन चाहान्छु। अहिले जहाँ छु त्यहाँ मेरो मुख बन्द छ, मेरा हात बाँधिएका छन् । म एउटा स्वतन्त्रप्रेमी मान्छे हुँ।’

पौडेलले लामो समय आन्दोलनमा जिन्दगी बिते पनि अझै परिवर्तनको आवश्यकता रहेको औँल्याए। उनले भने, ‘लामो समय आन्दोलनमा जिन्दगी बित्यो । अब परिवर्तनको आवश्यकता छ। र, छोटो समयमा पाँचदेखि १० वर्षसम्म देशले रूपान्तरण खोजेको छ। त्यो रूपान्तरणको निम्ति उपयुक्त टिमको आवश्यकता छ। त्यो टिममा उर्जावान व्यक्तिहरूको आवश्यकता छ। त्यो समूह भनेको स्वतन्त्र पार्टीको समूह हो। उहाँहरूलाई सहयोग गर्दा देशले निकास पाउँछ भन्ने लाग्छ।’

पौडेलले अहिले समर्थन मात्र हो। पार्टी प्रवेश भने नभएको बताएका छन्। पार्टी निर्णयविरुद्ध विद्रोह गरेर चर्चामा आएका पौडेलले यसअघि भुइँकटर चुनाव चिह्नबाट मेयरमा बागी उम्मेदवार दिएका थिए।

मंसिरमा सम्पन्न निर्वाचनमा समेत उनी चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदार बनेका थिए। भरतपुर– ७ कृष्णपुरवासी ७२ वर्षीय पौडेल ०४९ को स्थानीय निकाय निर्वाचनबाट तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख र ०५४ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए।

०४६ सालको जनआन्दोलनमा जेल परेका पौडेल पेसाले वरिष्ठ अधिवक्ता हुन्। ०३६ सालमै सर्वोच्च अदालत बार एसोसिएसनको महासचिव बनेका उनी कानुनी क्षेत्रसँगै राजनीतिमा सक्रिय छन्।

दर्जनौँ सामाजिक संघ–संस्थामा आबद्ध उनी चितवनको राजनीतिमा भिजेका नेता मानिन्छन्। कांग्रेसको आठौँ राष्ट्रिय महाधिवेशनयता निरन्तर महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेर काम गरेको अनुभव पनि उनीसँग छ। पछिल्लो समय चुनावी गठबन्धनमा रहेको कांग्रेसले गठबन्धनको मर्म र भावनाविपरीत काम गरेको भन्दै उनीमाथि कारबाही गरेको थियो।

Tags

छुटाउनु भयो कि ?