News in Nepali

अल्पमत प्रमाणित भए एक मिनेट पनि पदमा बस्दिनँ: मुख्यमन्त्री गिरी

Lumbinikhabar Online

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अल्पमत प्रमाणित भए एक मिनेट पनि सरकारमा नबस्ने बताएका छन्।

दाङको तुलसीपुरमा सोमबार सेतोपाटीसँगको कुराकानीमा नेकपा एमाले लुम्बिनी संसदीय दल नेतासमेत रहेका गिरीले प्रदेश सभामा अल्पमतमा परेको भन्ने कुरा परीक्षण गर्न बाँकी नै रहेको बताए।

अल्पमतमा परेका मुख्यमन्त्रीले पद छाडेनन् भन्ने आरोप छ नि, भन्ने प्रश्नमा मुख्यमन्त्री गिरीले भने, ‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन र प्रमाणित भयो भने म एक मिनेट पनि पदमा बस्दिनँ, हामी सत्तामा रहनौं।’

विश्वासको मत नपाएको खण्डमा कुन धाराअनुसार नयाँ सरकार बन्छ त्यो कुरा प्रदेश प्रमुख अमिक शेरचन कसरी अघि बढ्छन् भन्नेमा निर्भर रहने उनले प्रतिक्रिया दिए।

अहिले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार छ। यो सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ३ अनुसार सरकार गठनको प्रक्रिया सुरू हुनुपर्ने तर्क उनको छ। यो धाराअनुसार ठूलो दलले सरकार बनाउन पाउँछ। लुम्बिनीमा एमाले सबैभन्दा ठूलो दल हो।

यसअघि गत चैत १२ गते नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिम सरकार गठनका लागि दाबी पेश गरेका थिए।

लुम्बिनीका मुख्यमन्त्री गिरीलाई माओबादी केन्द्रलगायत दलहरूले समर्थन फिर्ता लिइसकेका छन्। उनले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

मुख्यमन्त्री गिरीले वैशाख १० गतेसम्म विश्वासको मत लिनुपर्छ। उनले विश्वासको मत नपाए सरकार ढल्छ, विश्वासको मत पाए भने सरकार निरन्तर रहन्छ।

Tags

छुटाउनु भयो कि ?