पुस १० पछि दोस्रो पटक विश्वासको मत लिएको एक साता बित्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारलाई पूर्णता दिन सकेका छैनन् । चैत ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिएकै दिन प्रधानमन्त्री प्रचण्डले चैत १० (चार दिन) भित्रै सरकारलाई पूर्णता दिने बताएका थिए ।
तर, प्रधानमन्त्री आफैले घोषणा गरेको तीन दिन र विश्वासको मत पाएको एक साता बित्दा समेत मन्त्रालय ठोस सहमति जुट्न सकेको छैन । मन्त्रालय बाँडफाँडमै कुरा नमिल्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको सत्ता गठबन्धन दलका नेताहरूको भनाइ छ ।
मन्त्रालयसहित पावर बाँडफाँटबारे सोमबार प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भए पनि कुनै सहमति जुट्न सकेन ।
प्रचण्ड र देउवासँगको भेटपछि आफूनिकट नेताहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष नेपालले मन्त्रालय भागबण्डामा अझै कुरा मिल्न नसकेको बताएका थिए । ‘मन्त्रालय भागबन्डामा अहिलेसम्म केही कुरा मिलेको छैन, मंगलबार पुन: छलफल गर्ने भनेर उठेका छौँ,’ नेता नेपालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘हेरौँ मंगलबार कुरा मिल्छ कि !’