परराष्ट्र मन्त्रालय मातहतमा रहेको राहदानीको अधिकार गृह मन्त्रालयले आफू मातहत ल्याउन खोजेको छ । गृह मन्त्रालयका अधिकारीहरुले यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइसकेका छन् ।
हालै गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेर राहदानी वितरणको अधिकार गृह मन्त्रालय मातहत राख्ने व्यवस्था गर्न सुझाव दिएको छ । ‘नेपाली राहदानीसम्बन्धी सम्पूर्ण कार्य गृह मन्त्रालयको क्षेत्राधिकारभित्र ल्याई विदेशी निकायहरुमा हुने राहदानी सम्बन्धी कार्यहरुको लागि गृह मन्त्रालयले राहदानी सहचारी खटाउने व्यवस्था गर्ने’ गृह मन्त्रालयले यही चैत ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाएको ‘सुझाव कार्यान्वयन सम्बन्धी’ एउटा पत्रमा उल्लेख छ ।
१० माघ २०७९ को दिउँसो इलामका व्यावसायी प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका थिए ।
उक्त आत्मदाहको प्रकरणको विषयमा अध्ययन गर्न मन्त्रिपरिषदले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । जस अनुसार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । उक्त समितिले प्रेमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जाँदाका दु:ख र राहदानीको विषय समेत उठाएको उल्लेख गर्दै यस्ता समस्याहरुको दीर्घकालीन समाधान आवश्यक रहेको प्रतिवेदन बुझाएको सम्बन्धित अधिकारीहरु बताउँछन् ।