नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हुने भन्दै शीतल निवासमा छुट्टै सल्लाहकार नचाहिने बताएका छन् । अहिले राष्ट्रपतिलाई छुट्टै शक्तिकेन्द्र बनाउने अभ्यास गरिएको भन्दै प्रतिनिधिसभाको विशेष समयमा पन्तले यो कार्य संसदीय व्यवस्थाका लागि उचित नभएको बताए ।
भारतीय र अमेरिकी राजदूतको भेटपछिको समाचार राष्ट्रपतिको परराष्ट्र मामिला सल्लाहकारको रुपमा बाहिर आयो । राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मूसम्म भारतमा १५ जना राष्ट्रपति भए । सल्लाहकार अहिलेसम्म बनाएको थाहा छैन,’ उनले भने, ‘हामीले अभ्यास गर्दै गरेको संसदीय व्यवस्था हो । राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो ।
संवैधानिक राष्ट्रपति भए पनि सुरुदेखि नै यसमा गडबडी सुरु भएको छ । राजाको पालामा विभिन्न सचिवालयहरू राखे जस्तो अभ्यास राष्ट्रपतिको पनि भयो ।’
उनले अहिले राष्ट्रपतिको सचिवालयमा ठूलो संख्यामा कार्मचारी भर्ना गरिएको कार्य राम्रो नभएको टिप्पणी गरेका थिए । कानुनमा राष्ट्रपतिले ७ जना विज्ञ र सचिवालयमा ३१ जना भर्न गर्न पाउने व्यवस्था छ । सांसद पन्तले भने कानुनमा राखे पनि त्यसलाई संशोधन गर्न जरुरी रहेको बताए ।
‘राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन राष्ट्रपतिलाई छुट्टै शक्ति केन्द्र बनाउने गरी । यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ । राष्ट्रपतिको सल्लाहकार मन्त्री र मन्त्रिपरिषद् हो,’ उनले भने । यस्तै संविधान संशोधन गरेर भए पनि उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने उनको तर्क थियो ।