कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताएका छन् । विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रङ्गशाला निर्माण सुरु गर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल भएको सम्मानस्वरुप विराटनगर नजिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान निर्माण गर्ने उल्लेख गरे । उनले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्घोष व्यक्त गरे ।
राज्यको कम लगानीका बाबजुद फुटबल र क्रिकेट खेलमार्फत प्राप्त सफलताले दक्षिण एसियाका साथै विश्वमा नै नेपाल र नेपालीलाई चिनाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका सम्पदा भएकाले उनीहरूको संरक्षण गर्नुपर्नमा जोड दिए । “खेलाडीका कारण हाम्रो शिर ठाडो भएको छ । उनीहरुको संरक्षण गर्नु सबैको दायित्व हो”, उनले भने ।