सर्लाहीको बलरामा विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गएको छ । बुधबार राति नेपाल–भारत सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका– ५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको विद्युतीय धरापमा परेर ज्यान गएको हो ।
जंगली जनावरलाई थापिएको विद्युतीय धरापमा परेका महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महतो राति पिसाब फेर्न जाँदा छिमेकीको मकैबारीमा थापेको विद्युतीय धरापमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए । महतोको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपश्चात् परिवारले बुझेर लगेका छन् ।
जंगली जनावरले बालीनाली खाएर दुःख दिन थालेपछि किसानले यसरी खेतबारीमा विद्युतीय धराप थाप्ने गरेका छन् । त्यसमा परी बर्सेनि मानिसको करेन्ट लागेर ज्यान जाने गरेको छ ।