नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । सरकारले टेलिफोन/मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेको छ ।
विधेयकबारे समाचारहरू आएपछि बुधबार नेता कोइरालाले सामाजिक सन्जालमार्फत लोकतन्त्रमा यो वा त्यो बाहनामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । उनले विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउन लागेको भन्दै यसले सरकारको नियतमाथि प्रश्न उठेको बताए ।
‘लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ उनले भने, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्को समेत ध्यान जाओस् ।’
विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरिएको थियो । तत्कालीन प्रतिपक्षी कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो ।