News in Nepali

प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिन्छौँ : प्रधानमन्त्री

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाकाे पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरेका छन्।

गोरखाको पालुङटार नगरपालिकाको बिमिरेमा आज बिहान आयोजित एक कार्यक्रमबीच उनले सो सडकखण्ड स्तरोन्नतिको शिलान्यास गरेका हुन्।

गोरखामा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै उनले संसदबाट विश्वासको मत पाएपछि राजनीतिले लय पक्रिएको बताए। उनले भने, ‘हिजोबाट फेरि राजनीतिक वातावरणले लय पक्रिएको छ,’ सदनमा भएका ११ पार्टीले विश्वासको मत दिइसकेका छन्। अब सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ।’

उनले प्रदेश सरकारमा पनि गठबन्धन दलबीच आलोपालोको तयारी भइरहेको बताए। उनले भने, ‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल हुँदै छ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलगायतको सहभागिता थियो। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत रु. ८० करोड छ।

पन्थडिहीदेखि साहिलटारसम्मको झन्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्र हुनेछ।

बुड हिल–लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्ने गरी ठेक्का पाएको यो सडक योजनाबाट गोरखाको पालुङटार नगरपालिका एवं सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दूधपोखरी नगरपालिकाका विभिन्न क्षेत्रका स्थानीय लाभान्वित हुनेछन्।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यो योजना कार्यान्वयनमा विशेष पहल गरेका थिए।

Tags

छुटाउनु भयो कि ?