News in Nepali

प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा एमालेको आपत्ति

Lumbinikhabar Online

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा उपस्थित रहँदा रहँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएको भन्दै आपत्ति जनाएको छ । एमाले सांसदहरु योगेश भट्टराई र रघुजी पन्तले प्रधानमन्त्रीले संसद्लाई महत्त्व नदिएको भन्दै विरोध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएका थिए । तर‚ प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं उपस्थित थिए ।

प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने प्रकृतिको विधेयक प्रधानमन्त्री नै बैठकमा उपस्थित भएको बेलामा अर्को मन्त्रीलाई ट्रान्सफर गर्न नमिल्ने भन्दै एमाले सांसद भट्टराईले आपत्ति जनाए । भट्टराईले बैठकमा उठेर आपत्ति जनाइसकेपछि फेरि अर्का एमाले सांसद पन्तले पनि हात उठाएर समय मागेका थिए । बस्नका लागि पटक-पटक आग्रह गर्दा पनि पन्तले नमानेपछि सभामुख घिमिरेले पन्तलाई २ मिनेट बोल्नका लागि समय दिएका थिए ।

‘प्रधानमन्त्री स्वयं संसद्‌मा रहँदारहँदै अर्को व्यक्तिलाई पेस गर्न दिनु संसद्प्रतिकै अवहेलना हो‚’ सांसद पन्तले भने, ‘प्रधानमन्त्रीले संसद्को शून्य समयमा सांसदहरुले उठाएको कुराको प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ । प्रधानमन्त्रीलाई जवाफ दिनका लागि संसद्‍बाट रुलिङ होस् ।’

Tags

छुटाउनु भयो कि ?