कांग्रेसबाट राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेका छन्।
शनिबार कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेल काठमाडौंको हात्तीगौडास्थित निवास पुगेर लामिछानेलाई भेटेका हुन्।
भेटमा पौडेलले लामिछानेसँग राष्ट्रपति निर्वाचनका लागि सहयोग मागेको पौडेल निकट पत्रकार खिला कार्कीले बताए।
लामिछानेले भने यस विषयमा पार्टीमा छलफल गरी निर्णय गर्ने जवाफ दिएका थिए।
यता नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। पौडेललाई माओवादी केन्द्र लगायत ८ दलले समर्थन गर्ने जनाएको छ।
यता एमालेले भने आठ दलीय गठबन्धन नै नहरेको भन्दै नेम्वाङले नै विजयी हासिल गर्ने दाबी गरिरहेको छ।