प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् ।
बुधबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरूसँग सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्रीले भने, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । तसर्थ राष्ट्रिय मानवअधिकार आयोगलाई बलियो बनाउने मेरो प्रयत्न रहन्छ ।’
अहिलेको सरकार मानवअधिकारप्रति सम्वेदनशील रहेको भन्दै प्रचण्डले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू गम्भीर रहेको बताए । उनले आयोगका सातवटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नु पर्नेमा जोड दिए ।
बैठकमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको भन्दै साधनस्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा राखेका थिए ।