नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रको अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि आफ्नो पार्टीले प्रयास गरिरहेको उनको भनाइ छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताए ।
‘यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ’, उनले भने, ‘त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’