News in Nepali

ओलीलाई प्रदीप पौडेलको जवाफ- राष्ट्रपतिमा कांग्रेस राम्रोसँग ढोक्सा थाप्न तयार छ

Lumbinikhabar Online

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संवैधानिक मर्यादाको रक्षा गर्न र देशको अभिभावक राष्ट्रपति हो भन्ने स्थापित गर्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताएका छन्।

राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै सांसद पौडेलले त्यस्तो हुन नदिइने बताए।

‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ। आवश्यकता पर्‍यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं,’ पौडेलले भने।

उनले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताए।

‘हामी स्थिरताका पक्षमा छौं। गठबन्धन भत्काउन प्रयास गरेका होइनौं। सुदूरपश्चिममा गठबन्धन भत्कियो, के कांग्रेसको कारण गठबन्धन भत्किएको हो?,’ उनले भने, ‘अहिलेको गठबन्धन जगदैदेखि हल्लिएर भत्किएको हो, यसमा नेतृत्व गम्भीर भएन।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि संसदको रोष्टममा उभिएर कांग्रेसप्रति लक्षित गरेका विषयमाथि पनि जवाफ दिएका थिए। पौडेलले एमालेको तुलनामा कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताएका थिए।

साथै सत्ता गठबन्धनमा रहेका सात दलका शीर्ष नेता पछिल्ला बैठकमा एकै ठाउँमा नदेखिएको पनि बताएका थिए। संविधानले नचिन्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टीका शीर्ष नेता नगएको उनको भनाइ थियो।

‘जसपालगायत दलका नेता किन बैठकमा गएनन्?,’ ओलीप्रति लक्षित गर्दै उनले भने, ‘कांग्रेसले ढोक्सा थापेर हो? राप्रपाका मन्त्रीलाई प्रधानमन्त्रीले संसदबाटै किन चेतावनी दिनुपर्‍यो, रास्वपाले किन मन्त्री फिर्ता बोलायो? कांग्रेसले षड्यन्त्र गरेर हो?’

उनले अहंकारले देश नबन्ने र आजको परिस्थिति सम्हाल्न नसकिने पनि बताए।

‘प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको थियो आज किन सुस्त छ?,’ ओलीलाई लक्षित गर्दै पौडेलले भने, ‘बालुवाटार र बालकोट दौड व्यापक बढेको छ।’

Tags

छुटाउनु भयो कि ?