सुदूरपश्चिम प्रदेशमा एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर ३० दिनमै उनी नेतृत्वको सरकार ढल्न पुग्दा नेपाली कांग्रेसलाई थोरै भएपनि सत्तारोहणको त्राण मिलेको छ ।
मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभामा ठुलो दल भएर पनि सत्ताको बागडोर गुमाउन पुगेको काँग्रेसलाई सुदूरपश्चिमको सरकार फेरबदलले थोरै भएपनि त्राण प्राप्त गराइदिएको हो । सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढल्न पुग्नु र केन्द्रमा राष्ट्रपतिमा सत्ता साझेदार दलहरूमा देखिएको असमझदारीको फाइदा कांग्रेसले आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा समेत लिने प्रयास गरिरहेको छ ।
कांग्रेसको यो प्रयासलाई नेकपा एकीकृत समाजवादलगायत केही दलले साथ दिएका छन् । लुम्बिनी प्रदेशको एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा भएको झिनो मत ट्रान्सफर, सुदूरपश्चिमको सरकार परिवर्तन, उच्चस्तरीय राजनीतिक संयन्त्रका पछिल्ला बैठकहरुमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको हार्दिकताविनाको संवादले कांग्रेसमा खुसीको पारो एकपछि अर्को बढिरहेको हो ।
पछिल्ला यी चार घटनाक्रमपछि कांग्रेस नेता कार्यकर्तामा बढेको खुसी र उत्साह देख्दा मुलुकभर कांग्रेसको एकलौटी सरकार नै बनिसकेको त होइन ? भनेर प्रश्न नै गर्नुपर्ने जस्तो अवस्था छ । काँग्रेसलाई साथ दिएको नेकपा एकीकृत समाजवादीले त सुदूरपश्चिममा एमालेको सरकार ढल्नुमा आफ्नो बहादुरी नै ठानेको छ ।
सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमबाट एमालेलाई धक्का दिन थालिएको भन्दै अब अन्यत्र पनि सत्ताबाट हटाइने घोषणा गरिसकेका छन् ।