News in Nepali

वैकल्पिक राजनीति गर्छु भन्नेहरूले नै लोकतन्त्र मास्न खोजेका छन् : बाबुराम भट्टराई

Lumbinikhabar Online

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लोकतन्त्र मासेर वैकल्पिक राजनीति नहुने बताएका छन् । उनले वैकल्पिक राजनीति गर्नेहरूले लोकतन्त्रका अंगहरूलाई मजबुद बनाएर अघि बढ्नुपर्ने बताए ।

लोकतन्त्र नै भत्काउँछु भनेर वैकल्पिक राजनीतिक हुँदैन, अहिले वैकल्पिक राजनीति गर्छु भन्नेहरूले नै लोकतन्त्रका अंगहरूमाथि आक्रमण गरिरहेको देखिन्छ । त्यो राम्रो नियतले भएको छैन,’ उनले भने, ‘त्यो छद्म प्रकारको प्रतिगामी बाटो हुन्छ । लोकतन्त्रलाई मासेर होइन, यसका अंगहरूलाई मजबुद बनाएर अबको वैकल्पिक राजनीति हुनसक्छ ।’

विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले अबको वैकल्पिक राजनीतिले समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यास र उपभोग गर्नुपर्ने बताए । ‘वैकल्पिक राजनीति राजनीतिक रुपान्तरणको तेस्रो चरण हो । हामीले इतिहासलाई नकार्ने, धिक्कार्ने होइन, इतिहासबाट सिक्ने हो,’ उनले भने, ‘अहिले हाम्रो देशमा लोकतन्त्र प्राप्ति भएको अवस्था छ । हामीले अब समावेशी र सहभागितामूलक लोकतन्त्रको उपयोग गर्ने प्रणालीलाई मजबुद बनाउनका लागि वैकल्पिक राजनीति गर्नुपर्ने हुन्छ ।’
उनले देश बनाउने हुटहुटीले मात्रै देश नबन्ने बताए । ‘हामी सबैको हुटहुटी छ कि हाम्रो देश किन पछाडि पर्‍यो ? विश्वको प्रतिव्यक्ति आय औसतमा १३ हजार छ, तर हाम्रो १३ सय छ । हामी यो हालतमा कसरी पुग्यौं ? हामी यसमा चिन्तित छौं,’ उनले भने, ‘तर हुटहुटीमात्रै भएर हुदैन । अब देशलाई आर्थिक वृद्धि, समन्यायिक वितरण, मान्छेमा खुसी र दिगो विकासका लागि हामीले काम गर्नुपर्ने आवश्यकता छ, त्यो नै अबको वैकल्पिक राजनीतिको मार्ग हो ।’

Tags

छुटाउनु भयो कि ?