गुल्मीका यातायात व्यावसायीले प्रदुषण जाँच तथा जरिवानाको त्रास रहेको र ट्राफिक प्रहरीले आतंक मच्चाएको आरोप भन्दै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र पठाएका छन् ।
गुल्मी, रेसुङ्गा र रुरु रेसुङ्गा यातायात प्रालिका पदाधिकारीहरुले गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत यातायात मन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।
व्यवसायीहरुले बुझाएको ज्ञापन–पत्रमा प्रदुषण जाँच तथा जरिवानाको त्रास र ट्राफिक प्रहरीले आतंक नियन्त्रण हुनु पर्ने माग गरिएको छ । यस्तै ऐन कानुनको कार्यान्वयन, पिक एण्ड ड्रपको व्यवस्था, पूर्वाधार विकास तथा पार्किङ सुविधा, ऐन र नियावलीको संशोधन, यातायात क्षेत्रको सुधार र पुनजार्गरण गर्न राष्ट्रिय यातायात प्राधिकरण निर्माणको माग गरिएको छ ।
चीन भारत नाकाको समस्या, सिमापारीको सुरक्षा र सुरक्षित भविष्यको सुनिश्चताको लागि योगदानमा आधारित सामाजिक सुरक्षा, सडक सुशासनको लागि रोड सेफ्टी काउन्सिल निर्माण तथा यातायात र व्यावसायीका दिर्घकालिन समस्या समधान गर्न आयोग गठन लगायतका माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समाधानको लागि तत्काल ज्ञापन पत्रलाई मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसँग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे ।