News in Nepali

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु : उपाध्यक्ष अर्याल

Lumbinikhabar Online

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् । सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् ।

उनले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताइन् । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् । उपाध्यक्ष अर्यालले आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने बताएकी छन् । त्यस्तै महिलाहरूका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उनले बताइन् ।

‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरूमा हुनेछ । प्रभावकारी नै छ पनि । सबै अनुभवी माननीयज्यूहरू हुनुहुन्छ । एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा । त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ?’ उनले भनिन्‚ ‘महिला माननीयज्यूहरूका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरूमा काम गर्ने सोच छ ।

यो देशमा परिवर्तन ल्याउने हरेक पार्टीका महिलाहरूले जुन योगदान छ । कति यो ठाउँसम्म नआउँदै हराउनुभयो । कति सहिद हुनुभयो । ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौँ । बाँकी महिलाहरूका लागि के कति कामहरू, नयाँ नियम कानुनहरू बनाउन सक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जानेछौं । त्यसको नीतिगत पहलहरूमा भूमिका खेल्नेछौं ।’

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरूका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरूले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेको बताइन् । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरूले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उनको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?