News in Nepali

आफूले निष्पक्ष र पारदर्शी रूपमा काम गरेको धितोपत्र बोर्डका अध्यक्षको दाबी

Lumbinikhabar Online

पुँजी बजार र वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हित संरक्षणका लागि आफूले स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी रुपमा काम गरिरहेको दाबी गरेका छन् ।

मनपरी रुपमा एकै पटक ठूलो संख्यामा धितोपत्र ब्रोकर, स्टक एक्सचेञ्‍ज, कमोडिटी एक्सचेञ्‍ज, मर्चेन्ट बैंकर लगायतको लाइसेन्स वितरण गर्न लागेको, ब्रोकरको शाखा विस्तारको अनुमति प्रक्रिया निष्पक्ष र पारदर्शी नभएको, स्टक एक्सचेञ्जले ब्रोकर छनोट गर्ने र सिफारिसका लागि मात्र नियामक निकायसमक्ष पठाउने अन्तर्राष्ट्रिय अभ्यास विपरीत नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अधिकार खोसेको, धितोपत्र निष्कासन अनुमति दिँदा पारदर्शिता कायम नगरेको लगायत आरोप लागिरहेको बेला अध्यक्ष हमालले आफूले निष्पक्ष रुपमा काम गरेको दाबी गरेका हुन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै हमालले आफू नियुक्त भएपछिका करिब ११ महिनामा लगानीकर्ताको मनोबल बढेको र बजार स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी भएको दाबी गरेका हुन् ।

झन्डै एक महिनाको कार्यकालमा अध्यक्ष हमालले नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टिएमाएस) स्थापना गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी लागू गरेको, सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा सेयर कारोबार वर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको सेयर बन्धक रहने लगायतका समस्या रहेकोमा ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ कार्यान्वयमा ल्याएको, आश्वा शुल्क घटाएको, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक सेयर निष्कासनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था हुने व्यवस्था लागू भएको लगायत विभिन्न काम सम्पन्न गरेको दाबी गरेका छन् ।

यस्तै, सर्वसाधारण लगानीकर्ताको संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै बोर्डले राष्ट्रिय पुँजी निर्माणका लागि योगदान पुर्‍याइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?