सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छिन्।
सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन्।
उनले त्यसका लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गरिन्। उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन्।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानुन बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन्।
देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रूपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको उनको धारणा थियो।
मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन्।