मधेस प्रदेशका एक स्वतन्त्र सांसद निर्वाचित भएको दुई महिना नबित्दै दुईवटा पार्टी प्रवेश गरेका छन् । बारा क्षेत्र नम्बर २ (१)मा स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित शारदाशंकर कलवार ५२ दिनभित्र दुई पार्टी प्रवेश गरेका हुन् ।
प्रदेश सभा सदस्य कलवार गत पुस ३० मा बालकोट पुगेर एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
त्यसको एक महिना नबित्दै कलवार आइतबार जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । उनलाई जसपा मधेस प्रदेश अध्यक्ष रामबाबु यादवले पार्टीमा स्वागत गरेका हुन् । यसअघि ०७४ सालको निर्वाचनमा कलवार जसपाबाटै प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
यसपटक जसपाले एमालेसँग तालमेल गरेपछि उनको टिकट खोसिएको थियो । टिकट खोसिएपछि स्वतन्त्र रूपमा निर्वाचन लडेर विजयी भएका उनी एमाले हुँदै पुनः पुरानै पार्टी फर्किएका हुन् ।