कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद अरूणकुमार चौधरी कारागार चलान भएका छन्।
ट्याक्टरमा आगजनी गरेको कसुरमा चौधरीलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
उनी कारागार चलान भए पनि उक्त क्षेत्रमा उपनिर्वाचन भने हुने छैन। सांसद जेल परेको अवस्थामा स्थान रिक्त नहुने भएकाले कैलाली-२ मा उपनिर्वाचन गर्नु पर्दैन।
संविधानको धारा १०३ को उपधारा ६ ले कुनै पनि सांसद प्रकाउ परे त्यसको सूचना सम्बन्धित सदनमा गराउनुपर्ने व्यवस्था गरेको छ। त्यसअनुसार उनी पक्राउ परेको सूचना प्रतिनिधि सभाको सभामुखले संसदमा दिनुपर्नेछ।
‘फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानून बमोजिम पक्राउ गर्न सकिने र त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरून्त दिनुपर्ने व्यवस्था संविधानमा छ,’ संसद सचिवालयमा कार्यरत कानून तर्फका सहसचिव लक्ष्मीप्रसाद गौतमले भने, ‘संसदले अब यसको सूचना दिनेसम्म हो।’