उपसभामुख इन्दिरा रानाले काठमाडौंकेन्द्रित नहुन सांसदहरूलाई सुझाव दिएकी छिन् ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन् । सांसदहरूले स्थलगत अवलोकन गरी जनताका समस्या संसदमा उठाउनुपर्नेमा जोड दिइन् ।
‘सांसदहरूले स्थलगत अवलोकन गरेर जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौंकेन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन्,’ उनले भनिन् ।
उनले आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा उपसभामुखलाई उप–चुप जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरिएको पाएको बताइन् ।