प्रधानमन्त्री पुष्पकमल दाहालले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरिएको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईंहरूले खेलेको भूमिका प्रशंसनीय छ।’
‘म पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको थिएँ ।
अहिले स्थापनाको १२ वर्ष पुगेकाे छ,’ प्रधानमन्त्री दाहालले भने, ‘मलाई निकै खुसी र गर्वको महसुस भएको छ । अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा निकै खुसी छु, यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ ।’
सो अवसरमा प्रधानमन्त्रीले ललितकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने स्रष्टाहरू सम्मानित गर्नुका साथै ललितकला सम्बन्धी सिर्जनाहरूको अवलोकन गरेका थिए ।