विश्वको तेस्रो धनी व्यक्तिका रुपमा स्थापित भारतीय व्यवसायी गौतम अडानी एक साताकै अवधिमा १० औं सूचीबाट बाहिरिएका छन् । अडानीका कम्पनीहरुको सेयर मूल्य समग्रमा ३६ अर्ब डलर घटेसँगै उनी विश्वका अर्बपतिको सूचीमा ११ औं स्थानमा परेका हुन् । ६० वर्षीय यी व्यवसायी अहिले ११ औं स्थानमा रहेको ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले देखाएको छ ।
सो इन्डेक्सले अडानीको हाल सम्पत्ति मूल्य ८४.४ अर्ब डलर रहेको जनाएको छ । गत मंगलबार अमेरिकी इन्भेस्टमेन्ट रिसर्च कम्पनी हिन्डेनबर्गले अडानीका कम्पनीहरुको हिसावकिताब गडबडी तथा चलखेलबाट सेयर मूल्य उचालेको सम्बन्धमा एक प्रतिबेदन सार्वजनिक गरेको थियो । अडानीले २०२२ मा ४० अर्ब डलरले आफ्नो सम्पत्ति बढाएका थिए ।
जसकारण विश्वको तेस्रो स्थानमा रहेका अडानी ११ औं स्थानमा झरेका छन् । हिन्डेनबर्गले गत मंगलबार अडानी ग्रुपबारे ‘कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गररिहेका छन् ?’
शीर्षकको ३२ हजार शब्दमा एक खोजमूलक प्रतिवेदन प्रकाशन गरेको थियो । त्यसयता उनका कम्पनीहरूको सेयर मूल्य ओरालो लागेको छ । अडानी इन्टरप्राइजेज, ग्रीन इनर्जी, पोर्ट्स एन्ड सेज, पावर, ट्रान्समसिन, टोटल ग्यास, विल्मरलगायत अनेकौं कम्पनीका उनी मालिक हुन् ।