News in Nepali

गृह मन्त्रालयबारे पार्टीमा छलफल गर्दै प्रधानमन्त्री दाहाल

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा मंगलबार पनि प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका पदाधिकारीहरु सहभागी छन् ।

बैठकमा सरकार सञ्चालन र गठबन्धन, गृह मन्त्रालयका विषयमा देखिएको अन्योलता र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनमा गृहमन्त्रालय र राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर मतभेद बढ्दो छ ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि उनी पदमुक्त भएका थिए । त्यसयता गृहमन्त्रालय प्रधानमन्त्री दाहाल आफैँले सम्हालेका छन् । तर नागरिकता पुनर्प्राप्ति गरिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले पार्टीबाट समेत निर्णय गराएर पुन: आफैँले मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेका छन् ।

मंगलबार बिहान मात्रै लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएर फर्किएका छन् । अहिले बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले त्यही विषयमा पार्टीभित्र परामर्श लिइरहेका छन् ।

Tags

छुटाउनु भयो कि ?