नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंगलबार ५ वर्ष अवधिको ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।
विकास ऋणपत्र २०८४ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १७ माघ मंगलबार हुनेछ भने निष्कासन १८ माघमा हुने राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमका ऋणपत्रहरु जारी गर्ने गर्दछ ।