कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा ०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । संवैधानिक व्यवस्था र दलिय शक्तिका आधारमा उनी वडा सदस्य हुँदै रुकुम पश्चिमको जिल्ला समन्वय समितिको प्रमुख बने ।
लामो समय राजनीति गरेका शर्माको त्यही नै पद पहिलो लाभको पद थियो । झण्डै पाँच वर्ष समन्वय प्रमुखको जिम्मेवारी पूरा गरेका शर्माले ०७९ को प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा भने प्रदेशतर्फको टिकट पाए ।
नेकपा (माओवादी केन्द्र) का पोलिब्यूरो सदस्य समेत रहेका शर्माले रुकुम पश्चिम (२) बाट निर्वाचित भएर पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । ०४२ सालदेखिनै राजनीतिमा लागेका उनी माओवादीले थालेको १० वर्षे सशस्त्र जनयुद्धमा पूर्णकालिन रुपमा भूमिगत भएर संघर्ष गरेका नेता हुन् । प्रदेश सभा संसदीय दलमा बहुमत जुटाएर दल नेता चुनिएका उनी राष्ट्रिय राजनीतमा फेरिएको समीकरणपछि संसदको पहिलो यात्रामै कर्णालीको तेस्रो मुख्यमन्त्री बने ।
नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शर्मा भाग्यमानी बने, जो ०७४ मै मुख्यमन्त्रीको दाबीसहित प्रदेश झरेका एमालेका यामलाल कँडेललाई पछि पारेर मुख्यमन्त्री बन्न सफल भए ।