स्विडेनमा भएको विरोध प्रदर्शनका क्रममा इस्लाममा पवित्र मानिने कुरानको प्रति जलाएको घटनाको टर्कीले कडा आलोचना गर्दै यसलाई ‘घृणित कार्य’ भनेको छ ।
टर्कीले विरोध प्रदर्शनलाई अनुमति दिने स्विडेनी सरकारको निर्णय ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएको छ ।टर्की र स्विडेनबीच कूटनीतिक तहमा विवाद गहिरिँदै गएको छ ।
टर्कीले स्विडेनलाई विरोध प्रदर्शन अन्त्य गर्न अनुरोध गरेको छ र स्विडेनका रक्षा मन्त्री पाल जोन्सनको टर्की भ्रमण रद्द गरेका छन् । टर्कीले यस भ्रमणले अब ‘आफ्नो महत्त्व र अर्थ गुमाएको’ जनाएको छ ।
जबकि पाउल जोनसनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हिजो मैले टर्कीका रक्षा मन्त्री हुलुसी अकारलाई जर्मनीको रामस्टेनस्थित अमेरिकी सैन्य आधार शिविरमा भेटेँ । हामीले अंकारामा हुने बैठक तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छौँ । ’
अर्को ट्विटमा उनले लेखेका छन्, ‘टर्कीसँग स्विडेनको सम्बन्ध हाम्रो लागि धेरै महत्त्वपूर्ण छ र हामी सुरक्षा र रक्षासँग सम्बन्धित साझा मुद्दाहरूमा फेरि वार्ता गर्ने आशा गर्दछौँ ।’
मुसलमानहरूले कुरानलाई ईश्वरको वचनको पुस्तक मान्छन् । उनीहरू यसलाई अति पवित्र मान्छन् । उनीहरू कुरानलाई जानाजानी क्षति पुर्याउने वा यसप्रति अनादर गर्नेहरूको कडा विरोध गर्छन् ।