News in Nepali

सभामुखको उम्मेदवारीका लागि कांग्रेसले प्रधानमन्त्रीको धारणा कुर्ने

Lumbinikhabar Online

नेपाली कांग्रेसले सहयोगी दलहरूसँग छलफल गरेर प्रतिनिधिसभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सभामुखका लागि उम्मेदवारी दर्ता गर्ने केही समय अझै बाँकी रहेकाले यसबीचमा अन्य दलहरूसँग छलफल गरेर सभामुखको उम्मेदवारी दिने तयारीमा रहेको कांग्रेस प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिकै आधारमा संवैधानिक पदहरू चयन गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीको आधिकारिक धारणा कुर्ने पक्षमा कांग्रेस रहेको पनि बताए ।

उनले बैठकमा सर्वदलीय बैठकमा भएका कुराहरूका बारेमा उपस्थित नेताहरूले बैठकमा जानकारी गराएको र अन्य दलहरूसँगको छलफलबाट निष्कर्ष आएपछि कांग्रेसले दलहरूसँग गरेको सहमतिका आधारमा सभामुखका लागि उम्मेदवारी दिने बताए ।

प्रवक्ता महतले समझदारीबाट भए समझदारीकै रूपमा अघि बढ्ने र समझदारीबाट नभए पनि उम्मेदवारी दिने पक्षमा रहेको बताए । प्रवक्ता महतले जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) कांग्रेसलाई सहयोग गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

Tags

छुटाउनु भयो कि ?