लुम्बिनी प्रदेशको उपसभामुखमा उम्मेदवारी दिएको नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनका तर्फबाट राप्रपाकी उम्मेदवार मेनुका खाँड केसीलाई समर्थन गर्ने भएको छ ।
सत्तारूढ गठबन्धसँग असन्तुष्टि जनाउँदै उपसभामुखमा निर्मलादेवी थारु चौधरीले मनोनयन दर्ता गरे पनि नागरिक उन्मुक्ति पार्टी अन्ततः पछि हटेको छ । केही असन्तुष्टि रहे पनि सम्बोधन भएपछि सत्ता गठबन्धनकी उम्मेदवार केसीलाई समर्थन गर्ने निर्णय भएको उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्मबहादुर चौधरीले बताए
लुम्बिनी प्रदेशमा आज सभामुख र उपसभामुख चयन हुँदैछन् । संसद् बैठक १ बजे बस्ने कार्यतालिका भए पनि दलहरुको छलफलका कारण ढिला हुँदा अहिले बस्ने तयारी भइरहेको छ । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगरको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् ।
उपसभामुखमा नागरिक उन्मुक्ती पछि हटेपछि राप्रपाकी केसी र नेपाली कांग्रेसका विश्वप्रेम पाठकको मात्रै मनोनयन बाँकी रहेको छ । संविधानमा सभामुख र उपसभामुखमध्ये एक जना महिला अनिवार्य हुने भन्ने व्यवस्था छ ।