टप खबर

निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गरिने

Lumbinikhabar Online

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए । उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताए । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डिसि क्षमता रहेको बताए । उनले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने बताए ।

उनले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने बताए । घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक राति पिक समयमा ८.७० पैसा, रातिको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको बताए । उनले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताए । उनले विगतमा विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेसन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताए ।

उनले भने, ‘रत्नपार्कमा चार्जिङ स्टेसन जस्तै देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउँछौं । यो स्टेसनमा बाहिरबाट आउनेहरुको लागि पनि खुला गर्छौं । देशभर यस्तै चार्जिङ स्टेसन बनाउनेछौं । निजी क्षेत्रलाई पनि विद्युतीय चार्जिङ स्टेसन राख्न इच्छा हुनेहरुलाई प्राधिकरणले सहमति दिन्छ । प्राधिकरणको भन्दा २० प्रतिशत थप गरेर निजी क्षेत्रले लिन सक्नुहुन्छ । यो स्टेसनको १२० किलोवाट डीसी क्षमता हो । विद्युतीय सवारीको एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिन्छ । यो स्टेसनमा २ वटा डीसीर एक वटा एसी चार्जर रहेको छ ।’ उनले थपे, ‘चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औषत प्रति किलोमिटरमा ७० पैसा लाग्छ । जबकी डिजेल र पट्रोलमा २० रुपैयाँ लाग्छ । माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्छ । चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक शुल्क लाग्छ । राति पिक समयमा ८.७० पैसा ,रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा रहेको छ । यो धेरै सस्तो रहेको छ । निजी क्षेत्रले २० प्रतिशतसम्म सर्भिस चार्ज जोडेर बनाउन सक्नुहुन्छ । अहिले निजी क्षेत्रले धेरै ठाउँमा राखेका चार्जिङ स्टेसनहरु अनियन्त्रित छ । बढी नै शुल्क लिएको छ ।’

उनले फेरि भने, ‘१५ रुपैयाँ लिदाँ पनि १५ गुणा नै अन्य भन्दा सस्तो छ । तर त्यो शुल्कलाई नियन्त्रण गर्छौं । प्राधिकरणले सस्तोमा दिएपछि सस्तोमा दिनुपर्छ । विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्छ । भाडा पनि एउटै राखेको पाएका छौं । विद्युतीय सवारीमा चढेको भाडा पनि सस्तो हुनुपर्छ । बिस्तारै त्यसलाई पनि नियन्त्रण गर्छौं । हिजोसम्म विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न समेत सक्ने थिएनौं । यो ठूलो परिर्वतन हो ।’ प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताएको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ ।

Tags

छुटाउनु भयो कि ?