News in Nepali

आज बिहान देखि हराएको हवाई जहाजको खोजि कार्य तीव्र गर्न गृहमन्त्री खाँणको निर्देशन

Lumbinikhabar Online

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी कार्य तीव्र गर्न निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन उनले निर्देशन दिएका हुन् ।

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरि हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकले जनाएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए । जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए ।

सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, चार भारतीय र दुई जर्मनीका नागरिक गरी १९ यात्रु तथा चालक दलका तीन सदस्य सवार रहेको जनाइएको छ ।

 

Tags

छुटाउनु भयो कि ?