प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल सर्वोच्च अदालत पुगेका छन् ।
नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई गरिएको बढुवामा विधि मिचिएको दाबीसहित अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पाेख्रेल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको स्रोतले जनाएको छ ।
पाेख्रेलको रिट निवेदन सर्वोच्च अदालतमा पेस भएर दर्ताका लागि अध्ययन भइरहेको छ ।
हिजोको मन्त्रिपरिषद्को बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार सिंहले आज बिहान दर्ज्यानी चिह्न लगाएर जिम्मेवारी सम्हालेका छन्।
गृह सचिव टेकनारायण पाण्डेले आईजीपी सिंहलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । वरीयताका क्रममा आफूभन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजी विश्वराज पाेख्रेल सर्वोच्च अदालत पुगेका हुन् ।