चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको खैरहनी स्थित कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएका सोही ठाउँका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको हो ।
बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।
घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।