News in Nepali

डा. केसी द्वारा पाँच बुँदे माग सहित सरकारलाई ध्यानकर्ष

Lumbinikhabar Online

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानकर्षण गराएका छन् ।

सरकार तथा सरोकारवालासँग पाँच बुँदे माग राख्दै डा. केसी समयमा समस्याको हल नभएको अवस्थामा पुनः सत्याग्रह बस्ने चेतावनी समेत दिएका छन् ।

डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग राखेका छन् ।

‘जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित, संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

डा. केसीले विभिन्न प्रतिष्ठानहरूमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण गर्न माग गरेका छन् ।

आफूसँग भएको सम्झौता अनुसार डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा तुरुन्त सरकारल मेडिकल कलेज निर्माण गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,’ आपराधिक पृष्ठभुमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ।

चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दा अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् ।’

 

Tags

छुटाउनु भयो कि ?