राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरु र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले देशमा आर्थिक संकट आएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष एस्तो बताएका हुन् ।
उनले भने– ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट ? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नेताहरुको घरमा । भ्रष्टाचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनुपर्यो । कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो । बाकसमा राख्नुपर्यो । आज नेताहरुको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ ।’
उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्याएको आरोप समेत लगाए ।