प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं जस्तो सुन्दर शहरमा जताततै फोहोरको थुप्रो देखिनु नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा रहेको बताएका छन् ।
बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापन गर्न प्रत्येक नागरिकको जिम्मेवारी उत्तिकै रहने भन्दै सबै नागरिकले जथाभावी फोहोर नगर्न र विभिन्न संक्रमण रोगको सिकार हुनबाट जोगिन आग्रह गरे ।
उनले भने, ‘काठमाडौं जस्तो सुन्दर शहर अहिले जताततै फोहोरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत लाजमर्दो कुरा हो । काठमाडौंलाई क्लिन, ग्रिन बनाउन जरुरी छ । त्यसलाई व्यवस्थापन गरे मात्र पनि रोगको संक्रमण कम हुन्छ । के के सहयोग चाहिन्छ सरकारले गर्न तयार छ । फोहोर व्यवस्थापन गर्नुहोस् । यसलाई डम्पिङ साइट भन्दा पनि यसलाई ट्रिटमेण्ट प्लान्ट गरेर पनि यसबाट फाइदा लिऔँ ।’
प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइड समावेश गरेसँगै नेपाल दक्षिण एसियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताए । उनले फोहोरको उचित व्यवस्थापन गर्नसके मात्रै पनि कतिपय रोगहरुको निवारण हुने बताए ।